अकबर र वीरबलको कथा(१२)-जाति बदल्न कसरी सकिन्छ ?

 

सधै झै एक दिन बादशाह वायु सेवनका लागि जंगलतिर नगएर यमुना नदीका तीरतर्फ तेर्सिए । वायुसेवनको समय सरसता-सित समाप्त गर्नका लागि वीरबललाई उनले  साथमा लिए । जब ती दुवै यमुना नदीको घाटमा पुगे तब धेरै नै पण्डा र बाहुनहरू सन्ध्या गरिरहेका थिए । त्यस्तो देखेर बादशाहले वीरबललाई भने-वीरबल ! मलाई पनि सन्ध्या गर्न सिकाइद्यौ । 

तब वीरबलले नम्रतापूर्वक उत्तर दिए-आदरणीय सम्राट! सब जातिहरूको सन्ध्या अलग-अलग हुन्छ, हजुरका लागि नमाज नै हितकर छ र अर्को कुरो यौटा जातिले अर्को जातिको सन्ध्या गर्ने हक पनि राख्तैन । 

बादशाह आफ्नू जिद्दीका पक्का हुनाले फेरि भने वीरबल, अब तिमी मलाई ब्राह्मण बनाइद्यौ, तर यो सन्ध्या गर्नचाहिं अवश्य सिकाइद्यौ । 

वीरबल पनि ब्राह्मणै थिए, भला ! उनी यौट मुसलमानलाई आफ्नु जातिमा कसरी मिलाउन सक्थे, भलै,त्यो राजा होस् या रंक ! केही सोची विचारीकन वीरबलले यस कुराको उत्तर भोलि पर्सितिर दिनेछु भने, बादशाह पनि राजी भए । । 

अर्को दिन बिहाने बादशाहको बातको उत्तर दिन वीरबल घाटको नजीकै कुमालेहरूका पास गए र इनाम आदि दिएर अह्राए कि तिमीहरू तीन चार जना मिलेर आज साँझ यौटा गधालाई घाटमा लगेर नुहाइरहनू जबसम्म बादशाह र म त्यस बाटोबाट गुजरदैनौ तबसम्म तिमीहरूले त्यस गधालाई नुहाइरहनू । 

सन्ध्या-भ्रमणका लागि उस दिन वीरबलले बादशाहलाई जानी बुझी त्यही बाटोबाट लिएर गए, जुन ठाउँमा उनले कुमालेहरूलाई गधालाई नुहाइरहन अह्राएका थिए । गधालाई त्यसरी मली-मलीकन मिहिनेतपूर्वक धोइरहेको देखेर बादशाहले ती कुमालेहरूलाई सोधे कि तिमीहरू घरिघरि यस गधालाई किन सयरी न्वाहिरहेका छौ ? उत्तरमा उनीहरूले वीरबलले सिकाएको अनुसार भने हामीहरू आज रगडी-बुकुवाले नुहाएर यसलाई कैली गाई बनाइरहेका छौ । तिनीहरूको यस्तो कुरो सुनेर बादशाह त अलमल्ल परेर हाँस्तै वीरबललाई भने-अक्किलका दुश्मन यी मूर्खहरू बेकारै बुद्धिलाई लाठी लिएर लधारिरहेका छन्-कही गधा पनि बकुवाले नुहाएर कैली गाई बन्न सक्छ ? 

बीरबल पनि अवसर चुकेउनेवाला थिएनन् , तुरुन्तै भने भारत सम्राट ! यदि गधालाई कैली गाई बनाउन सकिदैन भने एक मुसलमानलाई कसरी ब्राह्मण बनाउन सकिएला ? अनि बादशाहलाई त्यसको रहस्य समझमा आयो र उनी चुप लागे । 

त्यसपछि वीरबलले फेरि भने ‘स्वधर्ममा मर्नु बेस’ अर्को धर्म नमान्नू’ अर्थात् मर्ने र परे पनि आफ्नै धर्म बेस हुन्छ, करोडौ रुपियाँ पाए पनि अर्काको धर्म परिणाममा खतरनाक हुन्छ । यसैले भनेको पनि छ ‘जहाँ धर्म उही जय ।’ अर्थात् आफ्नै धर्ममा रहनाले नै मनुष्यको कल्याण छ । वीरबलका यस्ता कुराले बादशाह खुशी भए ।

Comments

Popular posts from this blog

अकबर र वीरबलको कथा(२०)-सबभन्दा श्रेष्ठ नाई

अकबर र वीरबलको कथा(११)-जाडो कति छ ?

अकबर र वीरबलको कथा(१४)-गुह खाने गोरु