अकबर र वीरबलको कथा(०४)-अकबर र वीरबलको पहिलो भेट ( किंवदन्ती-०२)
अकबर बादशाह र वीरबलको भेट भएको विषयमा यस्तो पनि किंवदन्ती छ एक दिन जाडोको सायंकाल बितिसकेपछि अकबर बादशाहले आफ्नू हुकूमतको राम्रो नराम्रो दुवै पक्ष जान्न भेष बदलेर महलको गुप्त द्वारबाट निस्केर मूल बजारतिर पाइला चाले । अलि पर पुगेपछि बजारिया हलमा मिसिएर उनी पनि हिंड्न लागे । त्यहाँबाट अलि पर पुगेपछि बादशाहले यौटी अधबैसे स्त्रीलाई सानू गल्लीको मुखमा
उभिएर आउने जाने मानिसहरूका उपर आँखा डुलाइरहेकी देखे र यो कुनै चतुर व्यक्तिको खोजीमा रहिछ भन्ने बादशाहका मनमा लाग्यो, त्यही अवसरमा उक्त स्त्रीले संकेतद्वारा बादशाहलाई डाकी । बादशाह उतैतिर गए ।
अलि पर पुगेपछि त्यस स्त्रीले बादशाहलाई भनी मेरी स्वामिनीका(मालिकिन) पति वणिक्(वैश्य) हुनाले व्यापार गर्न गएका निकै दिन भयो, फर्केर आएनन् र उनको केही समाचार पनि आएको छैन । उनी मस्त तरुनी हुनाले पुरुषको सहवास चाहन्छिन् । मदन-बाधा खप्न नसकेर मलाई पठाएकी हुन् । यति कुरा सुनेर बादशाह राजी भए । अनि त्यस स्त्रीले यौटा सुन्दर महल जस्तो घरमा
लगेर यौटा राम्रो कोठामा पुगेपछि भनी- ‘तपाई एकछिन यही पर्खनुहोस्, म मालिक्नीलाई समाचार दिन्छु ।’ यति भनेर उत्तरको प्रतीक्षा नगरी ऊ गई ।
त्यसको मालिक्नीको उमेर सोह्र वर्ष, शरीरको रंग सुवर्ण जस्तो, हरिणका जस्ता आँखा, धनुष जस्तो आँखीभौ, परेवाको जस्तो घाँटी, सिपी जस्तो कान, गुलाबी रंगका पातला ओठ, सुंगाको हुँड जस्तै नाक, दारिमका दाना मिलेझै टम मिलेका र मोति बिर्साउने दाँत, कमलको फूल झै सुन्दर अनुहार, सिंहको जस्तो कम्मर र मखमल जस्ता नरम-नरम तिघ्रा एवं पुष्ट नितम्ब भएकी, रेशमी सारी र केसरी रंगको चोलीले कसेका यौवन चिह्न उड्न तत्पर भएका ससाना चरा झै देखिन्थे । सुगन्धित तेल हालेर कोरेको कपाल कम्मरसम्म झुन्डिदा नागिनीको भान पार्दथे।
अर्थात् ती सुन्दरी सबै लक्षणले युक्त थिइन चार कुनामा – बत्तीको मधुरो प्रकाश फैलिरहेको सुन्दर सजिएको कोठामा गृहस्वामिनी ढोकातर्फ मुख फर्काई आफ्नू दाहिनेतर्फका भित्तामा राखिएको पूरा शरीर देखिने आदम कद ऐनामा , दृष्टि दिई आफ्नू शरीरको सौन्दर्यमा आफै मोहित भएर कम्मरमा दाहिने हात राखेर दाहिने पाउ अगाडि सारी उभिएकी थिइन् । त्यसै मौकामा दासी पुगेर मुसुक्क हाँसेर भनी- ‘अहो सखी ! चन्द्रमा पनि आफ्नू रूपमा आफै मोहित हुँदा रहेछन् ।’ यति सुनी दासीतर्फ हेरेर मुसुक्क हाँसी गृहस्वामिनीले दासीलाई उत्तर दिइन्- ‘हे सखी चन्द्रकले ! तिम्रो विचारमा चकोर मात्र चन्द्रमाको अलौकिक रूपमा मोहित हुन्छ भन्ने रहेछ, तर तलाउमा फुल्ने कमलिनी पनि चन्द्रमाको सुन्दर रूपमा मोहित भएको देखिन्छ ।
सखीले भनी- ‘हे सखि ! तिमीसित कुरा गरेर को विजयी हुन सक्ला ? तिमी सर्वगुण-सम्पन्न छ्यौ। म जस्ती मूर्खलाई आफ्नू वाक्चातुर्य देखाएर केही लाभ छैन । बरु झट्ट आफ्नू शरीर सजाऊ, तिमीलाई भेट्न । भनेर आएको भाग्यमानी व्यक्तिलाई दर्शन दिएर आफ्नू दास बनाऊ र इच्छापूर्ण गर ।’
सखीको यस्तो कुरा सुनेर गृहस्वामिनीको शरीरमा रोमान्च भयो र यौवन व्यर्थ जान लाग्यो भन्ने सन्ताप भयो। अनि प्रसन्न भएर घाँटीमा लगाएको सिक्री बेफिक्रीसाथ झिकेर सखीलाई इनाम दिइन् र भनिन्- हे चन्द्रकले !आफ्नू पाहुनालाई एकैछिन पर्खाएर आऊ। यहाँ आनन्द गर्नलाई चाहिने सबै वस्तु ठिक्क पारेर म बोलाउँछु ।
सखीको इच्छा बुझी चन्द्रकला बादशाहकहाँ आई र भनी ‘महाशय ! एकछिनको निम्ति जहाँ मन लाग्दछ त्यही वस्तनुहवस् । मालिक्नी श्रृंगार गर्दै छिन्। वेला भएपछि म आएर तपाईलाई भित्र लैजानेछु ।’ यति भरेर चन्द्रकला मालिक्नीकहाँ पुगी । चन्द्रकलालाई देखेर गृहस्वामिनीले । सोधिन्- “चन्द्रकला ! त्यो मानिस उभिएको छ कि कही बस्यो ? चन्द्रकलाले भनी- ‘सखी । त्यो मानिस त मेरो बिछ्यौनामा बसिरहेको छ।’ यति सुनेर दिक्क मान्दै तिनले लामू सुस्केरा हालेर भनिन्- ‘सखी ! त्यो मानिस त बुद्धि नभएको मूढ रहेछ, तैपनि यो एक कटौरा दूध लिएर जाऊ र उसलाई दिई “दूध कसको हो ?’ यति सोधेर आऊ । यति भनेर तिनले चाँदीको कचौरामा भरी दूध हालेर दिइन । त्यो दूध लिएर चन्द्रकला रूप बदलेका अकबर बादशाह बसेका स्थानमा आई दूधको कचौरा दिई यो प्रश्न गरी- ‘यो दूध कसको हो ?’ बादशाहले कचौरा हातमा
लिई दूध पिएर उत्तर दिए- ‘यो दूध कुनै भैसीको अथवा गाईको हुन सक्दछ ।’ चन्द्रकला गएर गृह-स्वामिनीलाई पाहुनाको उत्तर सुनाई र उनले भनिन्- ‘हे सखी ! त्यो मानिस साहै नै ग्वांग्रो रहेछ, त्यसको दिन व्यर्थ गएछ, त्यसले मेरो आशय बुझ्न सकेन । अब तिमी यो गुलाफको फूलले भरिएको किश्ती लगेर त्यस मूर्खलाई देऊ र के भन्दछ, सुनेर आऊ ।’
दासीले लगेर फूलले भरिएको किश्ती उस युवकलाई टक्याई । युवकले फूल स्वीकार गरेर बिछ्यौनामा राख्यो, त्यो समाचार दासीले गएर आफ्नी मालिकिनीलाई सुनाई । त्यो समाचार सुनेकी मालिकिनी अति खिन्न भएर यौटा समस्या पूर्ति गर्न पठाइन् । त्यसको पनि समुचित उत्तर मिलेन र त्यो युवक साहै हरिलट्ठक रहेछ भनिठानी ‘जा’ गएर त्यस लठुवालाई बिदा दे! र अकै युवकको . इन्तिजार गर् ! भनी दासीलाई फर्काइदिइन् र उस दासीले पनि सरासर आएर उस युवकलाई ठाउँठाउँ रुखो स्वरले ‘तपाई’ जस्ता अचतुर व्यक्तिलाई मेरी मालिकिनीले भेट गर्न मनसुबा गर्नुभएन, तसर्थ तपाई यहाँबाट मुटिहाल्नोस् र फेरि आउने साहस नगर्नुहोला, आउनुभयो भने ठूलो दुर्गति हुनेछ’ भनी ।
त्यस दासीको यस्ता कुरा सुन्दा जलालुद्दीन अकबरलाई रिस त खूब उठेको हो, तर रिसाउँदा भेद खुल्दछ कि भन्ने डरले केही पनि नबोली टाउको झुकाएर बाहिर निस्के । दासी पनि अर्को शिकारको तलाशमा ढोका ढप्काएर बाहिर निस्की । दासी अलि पर गएपछि अकबर बादशाहले त्यस स्त्रीको पूरा भेद जान्ने इच्छाले फेरि ढोका खोलेर भित्र पसी आफू नगीचैमा कसैले पनि नदेख्ने गरी लुकेर बसे । एकै छिनपछि चन्द्रकलाले यौटा अर्को अलि कालो अर्थात् साँवलो तरुण पुरुष साथमा लिई भित्र प्रवेश गरी । बादशाहलाई जस्तै उसलाई पनि आफ्नू कोठामा पर्खाई आफू मालिकिनीलाई खबर गर्न गई । कतिपय व्यक्तिहरूको विचारमा यिनै व्यक्ति वीरबल थिए । यिनको पिताको अकस्मात् निधनले – अर्थ संकटमा परेर केही काम पाइन्छ कि भनेर आफ्नू जन्मस्थान छाडी दिल्ली आएका थिए । नगरमा उत्सव हेरेर डेरातिर फर्कन लाग्दा बाटोमा यिनलाई चन्द्रकलाले देखेर आपनी स्वामिनीको इच्छा जाहेर गर्दा-बल्ल भाग्यले सहायता गर्न ऑटेछ यस्तो विचार गरेर निर्भय भई चन्द्रकलाको प्रस्ताव स्वीकार गरेर साथै गए ।
अकबर बादशाहलाई भनेझै उनलाई पनि बस्न भनियो, तर तिनले त्यस कोठामा चारैतिर आँखा डुलाई कही पनि बस्ने योग्य स्थान नदेखेर उभिइरहे, किनकि अघि अकबर बादशाह बसेको खाट दासी चन्द्रकलाको थियो । त्यसमा बस्न वीरबलले उचित नठानी उपयुक्त स्थान नपाएर बरु उभिइरहनु नै ठीक छ भन्ने निश्चय गरेर बसेनन् । त्यो समाचार दासीबाट सुनेर प्रसन्न भएकी गृह-स्वामिनी भत्र लागिन्-क्याबात ! यो मानिस निकै बाठो रहेछ । अनि
अघि झै दूधको कचौरा पठाई ‘यो दूध कसको हो ? भत्रे प्रश्न गर्दा वीरबलले उत्तर दिए- ‘मेरो ब्राह्मणको दूध हो ।’ यो उत्तर सुन्दा मालिक्नीलाई झन् हर्ष भयो र चन्द्रकलाद्वारा फूलले भरिएको किश्ती पठाइन् ।वीरबलले किश्तीबाट केवल दुई फूल हातमा लिएर चन्द्रकलासित भने- हामी दुई जनाबाहेक अन्य कसैले पनि यो भेद थाहा पाउनेछैन ।’ दासीले यो कुरा पनि सुनाइदिई । यो सुन्दा गृहस्वामिनी झन् प्रसन्न भइन् र अन्त्यमा उही समस्या पूर्ति गर्न पठाइन् । चन्द्रकलाले – वीरवलको अगाडि गएर समस्या सुनाई- ‘जीउ गोरो मुख साँवलो बस्छन् नदीका तीर ।’ वीरबलले सरस्वतीको स्मरण गरेर तत्काल उत्तर दिए
‘काम-युद्ध गर्छन् डटी, एक नाम दुइ वीर ।’ यति समस्या-पूर्ति गरेर वीरबलले चन्द्रकलालाई भने ‘सुन्दरी!तिमी आफ्नी स्वामिनीलाई भन- ‘कुनै कुराको चिन्ता गर्नपर्दैन । यो हाम्रो गुप्त भेद सकभर कसैले पनि थाहा पाउनेछैन । कुनै उपायले थाहा पाएछ भने पनि बुद्धिबलले इज्जतको रक्षा अवश्य गर्नेछु । पछि जसो होला, अहिले फिकी गर्नु व्यर्थ छ । तिम्रो समस्या पूर्ति मैले गरिदिएँ।
अब तिमी जीउ गोरो र मुख कालो भएका एक नाम, गरेका नदीको किनारमा बस्ने दुवै वीरलाई मसँग युद्ध गर्न पठाऊ, म सबै तरहबाट तयार छु । तिमीले पठाएको समस्या ससाना केटा-केटीले सोध्ने र बुझ्ने जस्तो हो । नायिकाको स्तनमा घटाऊ या रतिमन्दिरमा, स्पष्ट हुनेछ ।’ अन्धकारमा बसेर वीरबलको बुद्धिको चमत्कार हेरिरहेका अकबर बादशाह छक्क परे र मनमनै प्रशंसा गरी ‘अब के हुँदो रहेछ, हेरौं’ भन्ने विचारले त्यही लुकिरहे । उता चन्द्रकला पनि वीरबलको प्रशंसा गर्दै भित्र गई । वीरबल उस्तै प्रकारले उभिइरहे, बसेनन् ।
चन्द्रकला भित्र गएर वीरबलसँग भएको कुराकानी सबै एक-एक गरेर स्वामिनीलाई सुनाइदिई । कुरा सुन्दैमा तिनी दग. परिन् । अब विलम्ब गर्ने शक्ति र जाँच गर्ने इच्छा तिनमा रहेन । बुद्धिमान्हरूका माझमा ‘रत्न’ भएका वीरबललाई तत्काल भेटेर कुर गर्न आकुल भएर तिनी सरासर चन्द्रकलाकै कोठामा आएर ठिङ्ग. उभिइन् ।
वीरबलले आफ्नू प्रत्यक्ष लक्ष्मी झै सुन्दरी षोडशा बालालाई ठिङ्ग उभिएकी देख्नासाथ छक्क परेर ‘धन्य रूपकी सिन्धु ।’ भन्दै दुइ पाइला अगाडि सरेर उनको स्वागत गरे । लुकेर सबै चरित्र हेरिरहेका बादशाहको विषयमा केही भन्नु व्यर्थ छ । उनी ती चन्द्रमुखीलाई देख्नासाथ आफूलाई समेत बिर्सी चित्र झै भएर ती सुन्दरीलाई एकटक हेर्न लागे । अकबरलाई तिनको सौन्दर्यले आत्मविस्मृत पारिदियो । धन्य हो ! संसारलाई आफ्नू वशमा राख्न सक्ने शक्ति त केवल सौन्दर्यमा नै छ ।
विमला देवी नाम भएकी ती गृह स्वामिनी वीरबलको चातुर्यमा मुग्ध भएर वीरबलको हात समाउन पुगिन् । अनि वीरबलले साहसपूर्वक युवतीका दुवै गालाको पालैसित चुम्बन लिए । अनि युवतीले नक्कली क्रोध गरेर भनिन्- ‘हे पाहुना ! लाज-शर्म त्यागेर मेरो कपोलमा यसरी चुम्बन गर्ने साहस कसरी गर्न सक्यौ? के तिमीलाई डर भय लागेन ?’ वीरबलले निर्भय भएर मुसुमुसु हाँस्तै तत्काल उत्तर दिए- ‘हे सुन्दरी इच्छा भए कामदेवको स्वागत गर्न ठिक्क पर । यस विषयमा लाज मानेर काज चल्दैन । मलाई आफ्नू जानेर सेवाको मौका देऊ । अब पर्खाएर व्याकुलतामा वृद्धि नगराऊ ।’ वीरबलको यस्तो सार-गर्भित कुरा सुनेर विमला देवी को धैर्य र लाजको तगारो भाँचियो, अघि जुन नयनमा नक्कली कोध देखिएको थियो, उही नयनमा कटाक्षरूपी वाण र ओठमा मन्द हाँसो देखिन थाल्यो । विमला देवी र वीरबल भित्र पसे । अनि चन्द्रकला आफ्नू बिछ्यौनामा लम्पसार परी । वीरबलको रहस्य र उसको डेराको पत्ता पाउने आशामा अकबर बादशाहको पाँच घण्टाको समय बडो कष्टले बित्यो ।
प्रात:काल हुन लागेपछि वीरबल र विमला देवी कोठाबाट बाहिर निस्केर बगैचामा आए, तिनीहरू आउन लागेको थाहा पाएर बिस्तारै ढोका उघारेर बादशाह बाहिर निस्केर गल्लीको यौटा कुनामा उभिइ वीरबल बाहिर निस्कने प्रतीक्षा गर्न लागे । बगैचाको यौरा ढुंगामा बसेर विमला देवीले वीरबललाई प्रेमपूर्वक भनिन्-‘महाशय ! दासीलाई नर्बिसेर भोलि पनि पाल्नुहोला । हजुरलाई धन-दौलत वा अरू पनि जे जाति चाहिन्छ संकोच नमानी मसँग मागेर लिनुहोला । म सबै तरहले सेवा गर्न तयार छु । यति भनी ढोकासम्म पुयाएर बिदा दिइन् । वीरबल पनि मनमनै खुशी हुँदै आफ्नू डेरातर्फ लम्के । अकबर बादशाहले पछिपछि गएर उनको
डेरा समेत पत्ता लगाई आफ्नू उही गुप्त द्वारबाट महलमा । अदाखिल भएर नकली भेष उतारेर पलंगमा पल्टिए । प्रात:काल हुन आँटेकोले र रातिको घटना आँखा अगाडि आएकोले निद्रा लाग्न सकेन । कुनै किसिमले उज्यालो भयो । नित्य कार्य सकेर निर्धारित समयमा बादशाही लाग्यो । साम्राज्यका साना-ठूला अधिकारी, राजा-महाराजाहरू आएर काइदासाथ आफाफ्ना स्थानमा बसे । भाइ-भारदार र प्रजा एवं अधिकारीहरू बसिसकेपछि चोबदारले उच्च स्वरमा करायो- खबरदार, होशियार ! जलालुद्दीन अकबर बादशाहको सवारी भइरहेको छ । त्यसपछि सभासद्हरूको दाहिनेतिर झुन्डिएको मखमली पर्दा हल्लियो । अनि दुइटी नकाबपोश (मुखढाकेका)युवतीहरूले पर्दा हटाए र बादशाह अकबरले सिंहासनतिर पाइला सारे । यसरी बादशाह सिंहासनमा बसेपछि सबैभन्दा पहिले मियाँ खुसरूले हात जोरेर बिन्ती गरे-‘अबसर माफ पाऊँ सरकार !’ आज सरकारका नयन ‘मणिकलाई लज्जित पारिरहेका छन् । राति निद्रा नपरेर केही लाल भएजस्ता छन् । निद्रा नपर्ने हर्षको कारण जान्न सकिएन, शाहंशाहलाई निद्राले किन सहेन ?’
मियाँ खुसरुको यस्तो प्रश्न सुनेर अकबर बादशाहले भने ‘आज राति मलाई निद्रा नलाग्ने कारण पनि निकै चाखलाग्दो छ । म हिजो राति आफ्नू भेष बदलेर प्रजाको हाल-खबर जान्न र शयल गर्न बाहिर निस्केको थिएँ र निकै आनन्द पनि लिएँ । कतिपय प्रजाहरूसँग साधारण मानिस झै अनेक विषयमा चर्चा गर्दा-गर्दै फर्कन अबेर भयो । पूरा सुत्ने समय मिलेन र निद्रा पनि ठीकसँग आउन सकेन, त्यसैकारण आँखा राता भएका हुन् । राति मैले भेटेको यौटा मानिस विधाताको सृष्टिमा असाधारण बुद्धि भएको रहेछ ।’ यति भनिसकेर अकबर बादशाहले मीरकासिमलाई डाकी वीरबलको डेराको ठेगाना बताई दश जना सवार समेत साथमा लगी त्यस व्यक्तिलाई तुरुन्त लिएर आऊ भन्ने आज्ञा दिए ।
बादशाहको हुकूम-अनुसार मीरकासिम खोज्दै वीरबलको डेरामा पुगेर भने-‘ए भाग्यमानी ब्राह्मण ! तिमीलाई बादशाहले हुकूम भएको छ, तुरन्त हिंड ।’ यसरी अकस्मात् ‘बादशाहले डाकेको छ’ भनेको सुन्दा वीरबलको सातो गयो । उनी विचार गर्न लागे- ‘अकबर बादशाहले मलाई किन डाके होलान् ? रातिको चरित्र पो कसैले थाहा पायो कि ? चद्रकलाले त भनेकी थिई- यौटा राम्रो मानिस तिमी नआउँदै मैले डाकेर ल्याएकी थिएँ, तर त्यो मूर्ख स्त्रिया चरित्र नजाने हुनाले विमला देवीले भेट पनि नगरी धपाइदिइन् । त्यो मानिस कुनै राज्यको उच्चाधिकारी पो थियो कि? वीरबल यस्तै तर्क गरिरहेका थिए, त्यक्तिकैमा मीरकासिमको चर्को स्वर सुनियो ‘ए बाजे ! किन अबेर गरेको । खुरुक्क हिंड्न भए हिंड, नभए बल प्रयोग गरेर पनि नलगी छाड्दिनँ ।’ तिनका यस्ता कुरा सुनी वीरबलले नम्र भएर उत्तर दिए हाकिम साहेब! किन व्यर्थमा रिसाउँछौ । म लुगा लगाएर आउँदै छु ।’ यति भन्दै लुगा लगाएर वीरबल डेराबाट बाहिर निस्के ।
प्यादाहरूले बादशाहका हजूरमा लगेर हाजिर गराए ।अकबर बादशाहको अगाडि पुगेपछि वीरबलले अदवसाथ ‘स्वस्ति’ गरेर उभिए । अनि बादशाहले आफ्नू नगीचे बसालेर प्रेमपूर्वक सोधे-‘तिम्रो नाम वीरबल हो, पण्डितजी?’
वीरबलले अदवसाथ उत्तर दिए- ‘सरकारको अनुमान सही हो ! मलाई सबैले वीरबल भन्दछन् ।’
यति सुनी बादशाहले सोधे ‘हे वीरबल ! तिमीले बितेको रात कसरी र कहाँ-कहाँ गएर कुन कुन काम गरेर बितायौ ? के के देख पायौ, सबै नढाँटी मलाई सुनाऊ ।’ अकबर बादशाहको यस्तो प्रश्न सुन्दा मनमा झसंग भए पनि बाहिर साधारण भाव देखाउँदै वीरबलले बिन्ती गरे-‘हे पृथ्वीनाथ, मेला हेर्न गएको थिएँ, उही
साथीहरूसँग घोट्टा खाइयो, त्यसैले पाउनसम्म दुःख पाएँ । फेरि त्यैमाथि अर्को गँजडी मित्र फेला परेर गाँजा पनि बलजफती खाइदियो । एकपल्ट स्वाट्ट तानेको त चिलिम धपक्क छ । अनि नशाको तरंगमा निकै वेरसम्म नाच-रंग तमाशा हेरियो । अनि कुनै किसिमले डेरामा पुगेर कहाँ , कहाँ पिउनु, निद्राले छोप्यो र बिछ्यौनामा पल्टनासाथ -बेहोश भएँछु। बिहान घाम लागिसकेपछि बल्ल केही चत आएको थियो, उसै बखत सरकारी कर्मचारीहरू पुगे र सरकारबाट हुकूम भएको भन्ने सुनासाथ तिनैको साथ लागी हजूरको दर्शन पाउने हर्षले टउकोले टेक्दै र हामफाल्दै हाजिर भएँ ।’
वीरबलको यस्तो चातुर्यले भरिएको कुरा सुनी मुसुक्क हाँसेर अकबर बादशाहले भने-‘वीरबल ! मेरो सामुन्ने किन यसरी सत्य कुरा लुकाई कपोल कल्पित वर्णन गरिरहेका छौ ? यो इन्साफी जमाना हो, यसमा सत्य बोल्नाले नै कल्याण छ । फेरि मसँग झुट्टा कुरा गर्नाले हानि बाहेक केही नाभ छैन ।’
बादशाहको भनाइ र विचार अलि खरो जस्तो देखेर वीरबलको मन झस्कियो र राजालाई रातिको सबै भेद थाहा रहेछ भन्ने हृदयले देख्यो, तैपनि धैर्य धारण गरेर बिन्ती गरे- शाहंशाहबाट यो के हकम भएको? म हिजो राति कहाँ गएको थिएँ । कपाल दुखेर फुट्ला जस्तो भएर सायंकाल पाँच बजेदेखि बिछ्यौनामा पल्टेको त सिरानीमा राखेको चना-भुजा पनि नखाई सुतेछु ।’ यति सुन्नासाथ अकबर बादशाहले अलि रिसाएझै गरेर भने ‘वीरबल, तिमीसित म रिसाएको छैन, तर मलाई ठग्ने प्रयत्न नगरेर सत्य कुरा सुनाऊ । अब व्यर्थमा आफ्नू चमत्कार देखाएर दुःखको बाटो नखोज!’
बादशाहको यस्तो आज्ञा सुनी विवश भएर वीरबल भन्न लागे-‘पृथ्वीनाथ ! हिजो राति बजारमा डुल्न भनेर निस्केको थिएँ । दैवसंयोग बाटोमा यौटी स्त्रीले डाकी र
म त्यसको पछि लागेर गएँ । अलि पर पुगेपछि वर-पर कसैलाई नदेखेर त्यस स्त्रीले मेरो नगीचै आएर भनी-महाशय ! मेरी स्वामिनीका पति घरमा छैनन् , परदेश गएका छन् । उनी नहुलाने तरुनी सेठानी कामदेवको पीडाले विहल भएकी छन् , अत: तपाई मसँग हिंड्नुहवस् । त्यसको कुराले मनमा उत्सुकता लागेर म उसको साथै गएँ । घर-भित्र यौटा सुसज्जित कोठामा दूधको फीज जस्तो तन्ना कसेको यौटा बिछ्यौना थियो र कोठामा चार कुनामा राखिएका सामदानमा मधुरो बत्ती बलिरहेको थियो। म गएर त्यही बिछ्यौनामा बसे । त्यो स्त्री मलाई त्यही पर्खाई भित्र आफ्नी स्वामिनीलाई समाचार दिन गई । अनि त्यसकी स्वामिनीले यौटा चाँदीको कचौरामा दुध मेरो निम्ति पठाइन् । दासीले मसँग ‘दूध कसको हो ?’ भनेर सोधी । मैले त्यो दूध पिएर ‘भैसी अथवा गाईको दूध होला’ भनिदिएँ । त्यसपछि फेरि यौटा चाँदीको किश्तीमा गुलाफको फूल भरेर पठाइन्, मैले त्यो फूल सबै खाटमा बिछाएर यसैमाथि सुते । त्यसपछि फेरि यौटा विचित्र किसिमको कविता लेखेर तयसको पूर्ति गर्न पठाइन् , मैले आफ्नू भएभरको सबै बुद्धि खर्च गर्दा पनि त्यस समस्याको पर्ति समुचित रूपले गर्न सकिन । दासीले त्यो समाचार स्वामिनीलाई सुनाई र उनले त्यो कुरा सुन्नासाथ संग भेटै नगरी रिसाएर यस्तो मूर्खलाई किन डाकेर ल्याएका? तुरुन्त गलहत्ती लगाएर धपाइदेऊ भनिछन् र मालिकिनीको आज्ञा पाउनासाथ दासीले मेरो अगाडि आई साहै बेइज्जतीसाथ निकालेर ढोका थुनी । अनि त्यो अर्को कुनै पुरुषको खोजीमा बाहिर निस्केपछि म त्यसको पूरा भेद जान्न फेरि भित्र पसी बगैचामा लुकेर बसे । अनि त्यसले अर्को पुरुषलाई ल्याएर मलाई जस्तै दूध, फूल र समस्याले जाँच गरी । त्यसमा उ सफल भयो र रातभरि ती अनिन्द्य सुन्दरीसित मोज ग-यो । म मूर्ख जस्तो त्यही बगैचामा बसिरहें । बिहान हुन लागेपछि तिनीहरू तल ओर्लेर बगैचामा आउन लागेको देखी म सुटुक्क निस्केर डेरामा गएर सुतें । यस विषयमा कुनै कविको भनाइ पनि
साक्षात् नागिनि हुन् यि सुन्दरिहरु,संसारमा छन् जति।
अल्झाई निज जालमा पुरुषको, पार्छन् ठुलो दुर्गति।।
मार्छन् निश्चय नै डसेर विनिले मानेर यस्तो डर।
बस्नू उत्तम हुन्छ विज्ञ जनले, योदेखि धेरै पर।।
सरकार ! मेरो जो हाल भयो विन्ती चढाएँ । रात यसै चालले बित्यो । प्रातकाल भयो, हेरौ अब यो दिनले के गर्ने हो ! माथितिर लैजान्छ कि झन तलै खसाल्दछ।वीरबलको यति कुरा सुनेर मनमनै प्रसन्न भएका अकबर बादशाहले वीरबलको कानैमा मुख लाएर भने ‘क्या बात ! खूब बाठा रहेछौ, यो सबै दुर्गति तिम्रो होइन कि मेरो भएको हो । तिमी ता रातभरि सुन्दीसँग मोज गर्दै थियौ, मैले पो सारा रात छटपटीमा बिताएँ।’
बादशाहको यति कुरा सुनेर वीरबलले भने- ‘सरकार !हजूरले पनि किन झूटो बोलेको ? यो इन्साफी जमानामा बादशाहले पनि मिथ्या कुरा गर्नु उचित छैन । के मभन्दा पहिले बादशाह सलामत स्वयं त्यहाँ सवारी भएको कुरा सत्य हो ?’
वीरबलले यति भनेको सुनी पक्रिएको अपराधीले झै बादशाहले स्वीकार गरे भने-‘वीरबल ! अब सारा भेद खोलेर मेरा बेइज्जती नगर । भेद खुल्यो भने दरबारमा ठूलो हॅस्सीको पात्र बनेछु । तिम्रो बुद्धिको चातुर्य देखेर म प्रसन्न भएँ । अब तिमीले अन्त कही जानुपर्दैन, जति जे चाहिन्छ, शाही खजानाबाट पाउनेछौ। म प्रतिज्ञा गरेर भन्दछु कि आजदेखि तिमीलाई आफ्नो मित्र ठानेर आफ्नो साथमा राख्नेछु ।’ बादशाहको यस्तो कृपा देखेर वीरबलले आफूलाई धन्य ठानी विन्ती गरे-‘सरकारको हुकूम शिरोपर छ ।’ यसै दिनदेखि अकबर बादशाह र वीरबलको मित्रता भयो। वीरबलको चातुर्यले उनलाई राजाको पदवीसम्म प्राप्त गरायो । तिनको बुद्धिमानी र हाजिर-जवाबीमा अकबर बादशाह सदैव प्रसन्न रहन्थे ।
Comments
Post a Comment