अकबर र वीरबलको कथा -(०२) पूर्वजन्मको कथा

 

वाराणसी नगरको नगीचै यौटा ‘बंजार’ भन्ने ग्राम नै यिनको जन्मभूमि हो। त्यही ग्राममा “सुशर्मा” नामका यौटा ब्राह्मण र सुदास नामको यौटा नापित (हजाम) पनि बस्तथे। ती दुवैको मित्रता सानै उमेरदेखि भएको थियो।त्यो मैत्री उमेरको साथसाथै प्रगाढ हुँदै गयो। एक दिन सुशर्मा ब्राह्मणले आफ्नू मित्र सुदास हजामसित भने ‘हे मित्र! शास्त्रमा लेखिएको छ-यस जन्ममा तपस्या गर्न सके अर्को जन्ममा राजा हुन पाइन्छ। फेरि मलाई राजा हुने ठूलो इच्छा छ। त्यसैकारण मैले त तपस्या गर्ने निश्चय गरें, तिमी सल्लाह दिन्छौ ? 

आफ्नू मित्रको यस्तो इच्छा जानेर त्यो सुदास हजामले भन्यो-‘हे मित्र! शास्त्रको कथन कदापि असत्य हुन सक्तैना जसले यस जन्ममा धुनी रमायो, त्यसले अर्को जन्ममा राजा भएर सुख-भोग गर्न पायो। तपाईले राजा हुने विचार गर्नुभएछ, उत्तमकुरा हो। म पनि यस जन्ममा तपाईको सेवा-टहल गरेर अर्को जन्ममा तपाईकै मन्त्री भएर जन्मने इच्छा राख्दछु।’ 

 दुवै मित्रले यसरी सल्लाह गरी आफ्नू जन्म स्थान त्यागेर तीर्थराज प्रयागको बाटो समाए। केही दिनमा र प्रयाग-राज पुगेर त्रिवेणीको तटमा खरको छाप्रो बनाई सुशर्मा ब्राह्मण ईश्वरको तपस्या गर्न लागे। सुदास हजाम पनि छल कपट त्यागेर शुद्ध चित्तले मित्रको सेवा चाकरीमा लाग्यो। यस क्रमले तपस्या गर्दागर्दै निकै वर्ष बिते तैपनि केही फल प्राप्त भएन। अनि दुवै मित्रले शरीर त्याग्ने इच्छा गरेर अक्षयवटमा गई तीर्थराजको षोडशोपचारले पूजन गरिसकेर सुशर्मा ब्राह्मणले ‘म अर्को जन्ममा चक्रवर्ती राजा हुन पाऊँ’ यस्तो संकल्प गरेर प्राण छाडे। मित्रको गति देखेर त्यस सुदासले पनि ‘म आफ्ना मित्रको मन्त्री हुन पाऊँ’ भनेर देह त्याग गर्यो।

ती सुशर्मा ब्राह्मणले तपस्या गर्दा केवल गाईको दूध मात्र खाएर दिन व्यतीत गर्दथे। दैव-संयोगले एक दिन नछानेको दूध खाएछन् । त्यसमा गाईको रौ परेको रहेछ, अनजानमा भए पनि रौ पेटमा परेको पापले सुशर्माको जन्म यवन-कुलमा भयो तापनि तपस्याको प्रभावले तिनी १५४२ ई० मा ‘अमरकोट’ भन्ने स्थानमा हमीदा बेगम का पुत्र भएर जन्मे। तिनैको नाम ‘अकबर’ रह्यो। पछि तिनै भारतवर्षका बादशाह भए।

सुदास हजाम भए पनि मित्रको अनुकरण गरेर गाईकै दूध छानेर खान्थ्यो, यसैकारण त्यसको जन्म ब्राह्मण-वंशमा भयो र तपस्याको प्रभावले मुगल बादशाह अकबरको मन्त्री हुन पायो।

कतिपय विद्वान्हरूको भनाइ अनुसार जयपुर राज्यान्तर्गत अजमेरको नजीक यौटा सानू ग्राम नै वीरबलको जन्मस्थल हो। त्यो ग्राम यौटा आलो पर्वतको फेदीमा थियो। अकबर र वीरबलको परिचय पनि त्यही पहाडको छेउछाउमा कुनै जंगलमा भएको थियो भन्ने पनि कसैको मत छ। 

वीरबलका माता-पिता साहै गरीब थिए र काम तथा  मामको केही उचित बन्दोबस्त थिएन । अतः वीरबल दिनहुँ जंगलबाट दाउरा काटेर ल्याउँथे र त्यही बिक्री गरेर परिवारको भरण पोषण हुन्थ्यो । एक दिन दाउरा लिन जाँदा वीरबलले दाउरा बोक्ने नाम्लो लैजान बिर्सेछन्। निकै पर पहाडको अग्लो स्थानमा पुगेपछि सम्झेर आमालाई कराएर भने-‘आमै नाम्लो ल्याउन बिर्सिएछ।’ त्यो सुनेर आमा पनि कराइन्। ‘म कसरी पठाइदिऊँ ?’ अनि वीरबलले फेरि भने-‘कुकुरको घाँटीमा बाँधिदेऊ । नाम्लो लिएर कुकुर मकहाँ आइपुग्दछ ।’ 

छोरोले भने-जस्तै आमाले कुकुरको घाँटीमा नाम्लो बाँधिदिइन् र कुकुरले एकछिनमै पु-याइदियो । शिकारमा निस्केका अकबर बादशाहको खेमा (डेरा) त्यही पहाडको फेदमा थियो । वीरबलको यो चातुर्यको कुरा एका कान, दुई कान मैदान भएर बादशाहका कानसम्म पुग्यो र त्यो कुरा सुनी बादशाह निकै प्रसन्न भए । अनि सिपाही पठाएर वीरबललाई डाके। टाउकोमा दाउराको भारी बोकेर आफ्नू घरतिर जान लागेका वीरवललाई बादशाहका प्यादाहरूले डाकेका हुनाले उनी बादशाहको खेमातिर हिंडे। अलि पर पुगेपछि यौटा सीम (दलदले) पर्दथ्यो, त्यो बादशाहको खेमाको नगीचै पर्दथ्यो । वीरबलले दाउराको भारी नबिसाई बोकेको बोक्यै सीम फड्के र बादशाहको खेमामा पुगे ।अकबर बादशाहले त्यो कलिलो केटाको ताकत र बुद्धि देखेर निकै प्रसन्न भई पुरस्कार दिए । वीरबल बादशाहबाट पुरस्कार पाएर खुशी भई घरतिर फर्के । बाटोमा फेरि उही सोतो आयो । तर यस पटक तिनले त्यो सीम (सोतो) सहजै नाघ्न सकेनन् । त्यो स्थिति प्रत्यक्ष देखिरहेका बादशाहले फेरि वीरबललाई डाक्न पठाए र उनी आएपछि सोधे-‘ए बालक ! आउँदाखेरि त तिमीले केही जस्तो नमानेर सीम फड्केका थियौ, तर जादा सीम फड्कन किन ढीलो गरेका ?’ यति सुनेर के वीरबलले अत्यन्त नम्रतासाथ भने-‘पृथ्वीनाथ! यहाँ आउँदा म हलुको थिएँ, तर यहाँबाट फर्कदा सरकारको कृपाले भारी (ठूलो) भएँ । यही कारणले सीम फड्कन ढीलो भएको हो ।’ यस्तो हाजिर-जवाफ र बोल्ने चातुर्यले बादशाह प्रसत्र भएर वीरबललाई आफ्नू साथैमा राखे।

Comments

Popular posts from this blog

अकबर र वीरबलको कथा(२०)-सबभन्दा श्रेष्ठ नाई

अकबर र वीरबलको कथा(११)-जाडो कति छ ?

अकबर र वीरबलको कथा(१४)-गुह खाने गोरु